Tuesday, November 24, 2015

रिसानी माफ होस् ! देशसंगै मधेश जलिरहँदा म कसरी निदाउन सक्छु र ?

रिसानी माफ होस् ! देशसंगै मधेश जलिरहँदा म कसरी निदाउन सक्छु र ?
सुनीलकुमार साह
 लहान, सिरहा
 मंसिर ७, २०७२
.............................................
जताततै कालो बादलले घेरिरहेको वेला, अध्यारोले संसारै आप्mनो ढाकेको वेला पनि आशाको सानो दियो बलेकै छ भन्ने मलाई लाग्यो र शुरु गरे आफनो मनको भाव कोर्न यो सेतो पानामा ।
हुन त मैले यति धेरै संसार त हेरेको पनि छैन । आप्mनो जीवन भोगाईको ३७ बसन्त पार गरिरहदाँ केही सहज त केही असहज, केही तिता केही मिठा, केही खुशी केही दुःखका अनुभुतिहरु आफुसंग रहेको यथार्थता मेरो सामु रहेको छ ।



सायद यो ३७ वर्षको कालखण्डमा ममा आएको शारिरिक, मानसिक परिवर्तन त भयो नै, संगै देशमा आएको बहुआयमिक परिवर्तनसंग मेरो पनि उत्तिकै साक्षात्कार भयो अन्य समकालिनहरु झै ।
आफुमा चेतनाको विकाससंगै नयाँ नयाँ विचारहरु उत्पन्न र सोचको निर्माण हुदै गयो । त्यसैले ११ कक्षा अध्ययन गर्दा नै आफुमा सामाजिक परिवर्तनसंगै राजनैतिक क्षेत्रमा लगाव बढदै गयो । फलस्वरुप सामाजिक अभियन्तासंगै स्ववियु निर्वाचनमा एक राजनैतिक विधार्थी संगठनको तर्फबाट उम्मेद्वार बनि निर्वाचित पनि भए । शायद मेरो अनुभुतिमा मेरे जिवनको पहिलो खुशिको त्यो क्षणलाई मानेको छु जसको कारण त्यस रात खुशीले निद्रानै लागेन । कीनकी विधार्थीहरुको मतका कारण म स्ववियुको नेता जो भएको थिए । विजयी घोषणा लगत्तै अवीर मालाका साथ घरमा पुग्दा वुवा ज्यादै खुशि हुनु भयो र म प्रति गर्वान्भित हुनु भयो । त्यस दिनपछि म मा राजनैतिक प्रति निकै लगाव वढदै गयो ।
दुई वर्षको कार्यकालमा मैले विधार्थी राजनितिकालमा मैले आफनो पदीय दायित्व र आफनो मतदाताहरु प्रति जवाफदेहि को रुपमा लिए र सोही अनुरुप काम पनि गरे ।
२०५४ सालदेखि इमान्दारिता, नैतिकता र आशावादलाई मैले आफनो जीवनको सिद्धान्त बनाई कर्मक्षेत्रमा लागेको पनि आज १८ बसन्त पार भइसकेको रहेछ । अहिले सम्मको समयावधिमा तीनवटा राजनैतिक परिवर्तनलाई अनुभूति मैले आफनो आधा जीवनमै प्राप्त गरेको छु । विभिन्न कालखण्डमा भएका विद्रोह, जनयुद्ध, जनआन्दोलन, जाती जनजाती समुदाय केन्द्रीत आन्दोलन एवम् लोकसंघर्षको परिणाम स्वरुप देशमा क्रमशः स्थापना र परिवर्तन हुदै गयो राजतन्त्रबाट प्रजातन्त्र, प्रजातन्त्रबाट लोकतन्त्र, अनि लोकतन्त्रबाट संघिय गणतन्त्रात्मक राज्य व्यवस्था ।
साच्चिकै गज्जबको कालखण्डमा मेरो जन्म भएछ । कृतज्ञ छु आमा वुवा प्रति वहाँहरुकै कारण नेपालको ऐतिहासिक कालखण्डको साक्षी बनाइदिनु भएकोमा ।
शायद यो जिवनोभुती मेरो मात्र नभई मेरो समकालीन हरेक नेपाली युवाको हुनु पर्दछ । यी सबै कुरा सम्झीराख्दा मेरो मनमा अनेकन प्रश्नहरु उठेका छन्, के ती यति ठुला ठुला महान एैतिहासिक राजनैतिक परिवर्तन यति सानो काल खण्डमा हुनु समयको माग थियो ? के ति परिवर्तनप्रति हामी आम नागरिक तयार थियौ ? के ती परिवर्तनले आम नेपालीको जनजीविका र नेतृत्कर्ताहरुको नेतृत्वशैलीसंगै सोच, व्यवहार र दृष्टिकोण पनि समय र राजनैतिक परिवेश संगसंगै परिवर्तन हुदै गयो त ?
यी र यस्तै प्रश्नहरुको लर्को मेरो मनमा केही दिन यता थपिदै गएको छ र यो क्रम अझ पनि जारी रहेको छ । यी प्रश्नहरु आफैमा कति जायज छन् वा नाजायज यस्को छिनोफानो गर्ने जिम्मेवारी यहाँहरुको । मात्र मलाई यति थाहा छ, यी प्रश्नहरु मेरो मन र मस्तिकमा आएको विचारको लहरले उभ्याएको प्रश्नको लर्को मात्र हो ।
२०७२ साल नेपालको इतिहासमा यादगार एउटा वर्ष । चाहे त्यो महाविनाशकारी भुकम्पका कारण हजारौं नेपालीले आफन्त गुमाएको लाखौं परिवार घरवारविहिन भएको कारणले होस्, चाहे १४ हजार नेपालीको ज्यान जाने गरि भएको १२ वर्षे जनयुद्धको आधारशिलामा आएको नेपाली जनप्रतिनिधीद्धारा हस्ताक्षरित नेपालको संविधान २०७२ जारी भएको कारणले होस् वा प्रथम महिला राष्ट्रपति भएको कारणले होस् चाहे १०० दिनभन्दा लामो समयसम्म भएको मधेश आन्दोलन र करिव १०० मधेसी समुदायका नेपाली र सुरक्षाकर्मीले सहादत प्राप्त गर्नु परेकोे कारण वा चाहे होस् दुई महिना भन्दा वढि भएको नाकाबन्दीका कारण तराई–मधेस, पहाड अनि हिमालको यी सकशपूर्ण जिवन । यस वर्षले हामीलाई इतिहासमा धेरै सम्झना हुने लायकका परिघटनाहरु दिएका छन् । जुन अझै पनि जारी नै छ ।
हामी आम नागरिकका लागि धेरै कुरा हामीबाट प्रकृतिले वा नेतृत्वकर्ताले लिएको र हामीलाई दिएको वर्ष को रुपमा यादगार रहने छ, यो वर्ष २०७२ । आम नागरिकको अमन चयन लुटिएको, सुरक्षाको अनुभूति शुन्य भएको, मानवअधिकार खोसिएको र अभावै अभावबाट ग्रसीत जनजीवन, यी सबले अरुलाई कति छोयो या छोएन तर म जस्ता आम नागरिकलाई यस्ले भक्कानो फुटने गरि रुवायो । संवेदना हराएको, मानवता गुमाएको अनि मन बौलाएको अवस्था र देशमा अस्त व्यस्त व्यवस्था भइरहेको वेला म र म जस्ता आम नागरिक कसरी पो निदाउन सक्छ र ?
प्रश्नहरु फेरी मेरो मनमा उव्जीएका छन् ः कस्का कारण यी सब देश मधेसमा भइरहेको छ ? जिम्मेवारी कस्ले पो लिने हो ? यी हिडाईले हाम्रो गन्तव्य कहाँ पो हुने हो ? म आफु यस्को भागीदार कतिको हु ? यी सबका कारण दामासाहीले मेरो भागमा आउने परिणाम कति पर्ने हो ? तराई मधेसमा भइरहेको मानवीय र भौतिक क्षतिको जवाफदेही कस्ले पो लि दिने हो ? अधिकार प्राप्तीको मधेस–थरुहट तथा अन्य समुदायहरुको आन्दोलनको माँग कस्ले पो पुरा गरिदिने ? घोषित वा  अघोषित नाकाबन्दीका कारण मानव संकटको जिम्मेवार कस्ले पो लिइदिने ?
यी सबै परिवेशमा काम गरि खान पाउनेहरुले कसरी गरि खान पाउने ? समान अधिकार र सम्मान पाउन आन्दोलनमा होमिएका समुदायहरुले हामी नेपाली भनि गर्व गर्न पाउने दिन पो कहिले आउने ? माई (आमा)हरुको काख उजाडि रहँदा र दिदि बहिनीको सिउँदो मेटिरहदाँ राज्यको आखाँ कीन नरासएको होला ? के हामी यति संवेदनहीन भइसक्यौ की हामीलाई आप्mनै शरिरको भाग काटिराख्दा दुख्नैपो छाडेको हो की ? हामी बसेकै घरमा अर्का एक कोठामा आगो लागिरहँदा आफु अर्का कोठामा सुरक्षित रहेको भन्दै रमाइ रहन हामीलाई कुन स्वार्थले साथ दिइरहेको होला ? यस्तो विषम परिस्थितीमा हामीले मानवतालाई विर्सिदिने हो भने हामीसंग आफ्नो भन्ने केही बाँकी नरहला की ?
यी यस्तै अनेकन प्रश्नहरु उव्जिएको छ म र मजस्तै आम नागरिकको मनमा । जवाफ पो कसले दिने ? जवाफ दिन जवाफदेही पो कस्ले लि दिनु पर्ने ?
यो कस्तो द्वन्द्व र द्विविधामा हामी फस्दै गएका छौ । सामाजिक संजालमा वाकयुद्वको शंखनाद भएको निकै भयो । ती वाकयुद्धमा लिएका कुराहरु व्यवहारमा हुने हो भने हामी कतै दिर्घकालिन द्वन्द्वमा त फस्दै गएका छैनौ, मनमा कहालि लागेर आउँछ । अरुले के भने के लेखे हेक्का हामीलाई भोली होला नहोला, तर जिम्मेवार ओहदामा भएका नेतृत्व र मानवताको पाठ वर्षौदेखि पठाउदै आएका व्यक्तित्वको हाथले गैर जिम्मेवारीपूर्ण ढंगले सामाजिक संजालमा लेखिदिदा र ती नरम÷निर्दोष ओठहरुले सार्वजनिक कार्यक्रममा तिक्तापूर्ण वचन बोलिदिदा आम नेपालीको मनमा चिरा पर्दै गएको छ, असमझदारी बढदै गएको छ, शंका उपशंकाहरु थपिदै गएको छ, मलाई निकै दुखाएको छ, घाउ लगाएको छ र शायद यहाँहरुलाई पनि दुखाएकै हुनु पर्दछ ।
समस्या समाधानका लागि हामीले एकले अर्काप्रतिको हेर्ने नजरियामा परिवर्तन ल्याउन जरुरी छ, सोचमा परिवर्तन ल्याउन आवश्यक छ, हामीले एक अर्का प्रति गरिने व्यवहारमा पनि सकारात्मक परिवर्तन हुनु जरुरी छ । थाहा छैन, मलाई यी सब कुरा लेख्न मलाई अनुमति छ वा छैन, मात्र केही दिन यताको आप्mनो अनुभूति यी शव्दहरु मार्फत्त साट्ने प्रयास गरेको छु ।
मेरो चाहना यति मात्र हो मेरो देश “सिगांपुर” नबने पनि, “सिरिया” चाही नबनोस् । म मा यति विराट परिवर्तनको साक्षी बन्ने हिम्मत र हैसियत छैन, सरकार । अव “गेम ओभर” गर्न ढिला नगरौं सबै सरोकार पक्ष संवेदनशील बनौ र समाधानका लागि हाथेमालो गरि जुटौं । नत्र आ आफ्नो अडान र हठ नत्याग्ने हो भने हामी आम नागरिकको हित त गर्दै गर्दैन, यहाँहरुको सत्ताको पनि जग भासिन नसक्ला भन्न सकिन्न । एक आपसमा बाचचितलाई निरन्तरता दिनोस्, मुख फुलाएर बस्नु भयो भने बात मार्नेहरु टाढा गएपछि आवाज दिएर बोलाउनु भए पनि आवाज त्यहाँसम्म नपुगि दिन सक्छ ।
रिसानी माफ होस्, मेरो देशसंगै मधेस जलिरहँदा म एक आम नागरिक कसरी पो निदाउन सक्छु र ?

1 comment:

  1. आम नागरिकको अमन चयन लुटिएको, सुरक्षाको अनुभूति शुन्य भएको, मानवअधिकार खोसिएको र अभावै अभावबाट ग्रसीत जनजीवन, यी सबले अरुलाई कति छोयो या छोएन तर म जस्ता आम नागरिकलाई यस्ले भक्कानो फुटने गरि रुवायो । संवेदना हराएको, मानवता गुमाएको अनि मन बौलाएको अवस्था र देशमा अस्त व्यस्त व्यवस्था भइरहेको वेला म र म जस्ता आम नागरिक कसरी पो निदाउन सक्छ र ? Real comment

    ReplyDelete